सिराहामा सडक निर्माणको तयारी पूरा, सांसद यादवको पहलमा योजना अगाडि
सिराहा — पूर्वाधार विकास कार्यालय सिराहाबाट प्राप्त पत्रअनुसार स्वीकृत वार्षिक योजना कार्यक्रम अन्तर्गत सिराहा जिल्लाको औरही गाउँपालिका वडा नं. ४ मा सडक निर्माण कार्य छिट्टै सुरु हुने भएको छ।
राम शाहको घरदेखि मस्जिद हुँदै नथुनी मोचीको घरसम्म जोड्ने उक्त सडक योजनाको निर्माणका लागि उपभोक्ता समिति गठन भइसकेको सम्बन्धित निकायले जनाएको छ। स्थानीयस्तरमै उपभोक्ता समितिको सक्रियतामा निर्माण कार्य अघि बढाइने तयारी गरिएको छ।
यस योजना कार्यान्वयनमा जनमत पार्टीबाट नेतृत्व गर्दै आएका पूर्व वनमन्त्री तथा हाल सांसद संजय कुमार यादव को महत्वपूर्ण भूमिका रहेको जानकारी दिइएको छ। उहाँको पहल र समन्वयमा योजना अगाडि बढाइएको बताइएको छ।
सम्बन्धित स्रोतका अनुसार आवश्यक प्रक्रिया पूरा भइसकेको र केही दिनभित्रै निर्माण कार्य औपचारिक रूपमा सुरु गरिनेछ। यस सडक निर्माणपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुनुका साथै क्षेत्रको समग्र विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले लामो समयदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका थिए। योजना कार्यान्वयनसँगै उनीहरूको अपेक्षा पूरा हुने विश्वास गरिएको छ।

