औरही–४ स्थित सहजा नदीको पुल निर्माण अलपत्र, डाइभर्सनमै १० जनाको ज्यान गयोसिराहा । औरही गाउँपालिका वडा नं. ४ मा पर्ने सहजा नदीमा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासी गम्भीर जोखिममा परेका छन्। वर्षभरि पानी बगिरहने गहिरो सहजा नदीमा यसअघि बनेको फलामे पुल जीर्ण भएपछि हटाएर नयाँ पुल निर्माणको काम अघि बढाइए पनि हालसम्म काम लथालिङ्ग बनेको छ।सानो आकारको यो पुल दुई वर्षभित्रै सम्पन्न गर्न सकिने भए पनि सरकारको लापरवाही र सम्बन्धित निकायको उदासीनताका कारण अहिलेसम्म निर्माण पूरा हुन सकेको छैन। पुल निर्माण नहुँदा बनाइएको अस्थायी डाइभर्सन झनै जोखिमपूर्ण बनेको छ। डाइभर्सनमा आवश्यक सुरक्षा संकेत, चम्किलो बोर्ड, रिफ्लेक्टर, वा कपडा नहुँदा तीव्र गतिका सवारीसाधन सिधै नदीमा खस्ने गरेका छन्।स्थानीय स्रोतका अनुसार हालसम्म डाइभर्सनकै कारण करिब १० जनाले ज्यान गुमाइसकेका छन्। कार र मोटरसाइकल दुर्घटना निरन्तर भइरहेका छन्। दुर्घटना न्यूनीकरणका लागि प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा कहिलेकाहीँ कपडा वा कागज टाँस्ने प्रयास गरिए पनि केही दिनमै ती उपायहरू नष्ट हुँदा पुनः दुर्घटना दोहोरिने गरेको छ।यसअघि माननीय सञ्जय कुमार यादवको पहलमा डाइभर्सन नजिक सडक बत्ती जडान गरिएको थियो। तर दीर्घकालीन रूपमा मर्मत र संरक्षण नहुँदा हाल उक्त क्षेत्रमा पूर्ण अन्धकार हुने गरेको छ, जसका कारण रातिको समयमा दुर्घटनाको जोखिम झनै बढेको स्थानीयवासी बताउँछन्।यता पुलको तल्लो सतह (बेस) सम्बन्धी कामका क्रममा मजदुरी विवाद चर्किएपछि हालका ठेकेदारले काम रोकेको जनाइएको छ। नयाँ ठेकेदारले काम सुरु गर्न खोजे पनि केही स्थानीय पीडित व्यक्तिहरूले अवरोध गरेकाले निर्माण अघि बढ्न नसकेको ठेकेदार पक्षको भनाइ छ।यसै सन्दर्भमा माननीय सञ्जय कुमार यादवसँग पुल निर्माणबारे जिज्ञासा राख्दा उहाँले सम्बन्धित कार्यालयसँग तत्काल फोनमार्फत समन्वय गर्नुभएको थियो। त्यसपछि सम्बन्धित ठेकेदारले एक हप्ताभित्र काम पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको जानकारी प्राप्त भएको छ।स्थानीयवासीले पुल निर्माण तत्काल अघि बढाउन, डाइभर्सनमा स्थायी सुरक्षा व्यवस्था गर्न र थप मानवीय क्षति हुन नदिन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
औरही–४ स्थित सहजा नदीको पुल निर्माण अलपत्र, डाइभर्सनमै १० जनाको ज्यान गयो
Date:
Share post:

