योग, आयुर्वेद र स्वस्थ जीवनशैलीबारे सचेतना फैलाउँदै शिक्षक अरुण कुमार यादव
सिरहा — अरुण कुमार यादव, जो राजर्षि जनक विश्वविद्यालय का शिक्षक तथा कानुन व्यवसायीका रूपमा कार्यरत छन्, पछिल्लो समय सिरहा पुस्तकालयमा योग अभ्यास र स्वास्थ्य सचेतना कार्यक्रममार्फत समाजलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरिरहेका छन्।
यादवले अहिलेको जीवनशैली स्वास्थ्यका दृष्टिले निकै चुनौतीपूर्ण बन्दै गएको बताउँछन्। उनका अनुसार मानिसको जीवन अस्तव्यस्त छ, कामको तनाव र समयको अभाव बढ्दै गएको छ, जसले गर्दा स्वस्थ रहनु पनि कठिन बन्दै गएको छ।
उनले कृषि उत्पादनदेखि खानासम्म पुग्ने प्रक्रियामा अत्यधिक रासायनिक मल र विषादी प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरे। “आजको अवस्थामा मानिसले दैनिक रूपमा विष नै सेवन गरिरहेको अवस्था छ,” यादव भन्छन्। उनका अनुसार यस्तो रासायनिक प्रयोगका कारण मानिसहरू विभिन्न रोगको शिकार बन्ने क्रम बढ्दो छ।
यादवले आधुनिक औषधिको प्रयोगले छिटो राहत दिए पनि त्यसका साइड इफेक्टका कारण नयाँ रोग निम्तिने जोखिम रहेको बताए। त्यसैले दीर्घकालीन स्वास्थ्यका लागि आयुर्वेदिक तथा प्राकृतिक उपचार पद्धति प्रभावकारी हुन सक्ने उनको भनाइ छ।
उहाँ आफैं पनि केही समयअघि बिरामी परेको अनुभव सुनाउँदै आयुर्वेदिक उपचारबाट धेरै रोग जडबाट निको हुने विश्वास व्यक्त गर्नुहुन्छ।
उनका अनुसार स्वस्थ समाज निर्माणका लागि सबैभन्दा पहिले समाजका व्यक्तिहरू नै स्वस्थ हुनुपर्छ। “जबसम्म समाजका सबै व्यक्ति स्वस्थ हुँदैनन्, तबसम्म स्वस्थ समाजको कल्पना गर्न सकिँदैन,” उनले भने।
व्यस्त कार्यतालिकाका बाबजुद पनि यादव हरेक बिहान सिरहा पुस्तकालयमा पुगेर योग गर्ने र गराउने गर्छन्। साथै त्यहाँ आयुर्वेदिक उपचार, प्राकृतिक जीवनशैली र स्वास्थ्य सचेतनाबारे छलफल समेत गर्दै आएका छन्।
यादवले आवश्यक परे कुनै पनि स्थानमा निःशुल्क स्वास्थ्य सचेतना शिविर सञ्चालन गर्न आफूहरू तयार रहेको पनि बताए। स्वस्थ जीवन जिउन खानपान, बानी व्यवहार र रहनसहनमा परिवर्तन आवश्यक रहेको भन्दै उनले जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
यसै विषयमा तयार गरिएको उनको छोटो भिडियो पनि प्रस्तुत गरिएको छ।
योग, आयुर्वेद र स्वस्थ जीवनशैलीबारे सचेतना फैलाउँदै शिक्षक अरुण कुमार यादव
Date:
Share post:

